त्रिशुली नदीमा बस खस्यो, कम्तिमा ५ जनाको मृत्यु

काठमाडौं । धादिङ गजुरीस्थित गलौदीबाट बस त्रिशुली नदीमा खसेको छ । दुर्घटनामा कम्तिमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवाललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४ः४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।
बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको डीएसपी जैसवालले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।