काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ६ पुगेको छ। घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी बनाउने निर्देशन दिएका छन् । रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान पौने ५ बजे धादिङको गजुरी गाउँपालिका ५ घाटबेशीस्थित सडकबाट त्रिशूली नदीमा खसेको थियो।
दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३८ जनालाई जीवितै उद्धार गरिएको थियो। एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइतेहरूलाई काठमाडौं पठाइएको र केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसमा कति यात्रु सवार थिए भन्नेबारे यकिन नभएको र मृतकहरूको सनाखत भएको छैन । चालक लुम्बिनी संस्कृति नगरपालिका ९ का हरि रामलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।