काठमाडौं । प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद भएको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले सोमबार दुईवटा होटलमा छापा मारेर एक करोड १६ लाख २२ हजार रुपियाँसहित पाँचजनालाई पक्राउ गरिएको जानकारी दिए । आइतबार साँझ प्रहरीले ३९ लाख २० हजार रुपियाँसहित तीनजनालाई पक्राउ गरेको थियो ।
उनले नेपालगन्जबाट दुई दिनमा प्रहरीले स्रोत नखुलेको एक करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपियाँ र १५ लाख ४० हजार भारतीय रुपियाँ बरामद गरेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गाली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपियाँ बरामद गरेको थियो ।
प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगन्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिए । उनीहरुको साथबाट भारतीय ११ लाख रुपियाँ पनि बरामद भएको एसपी बोहराले बताए । बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगन्जका सलिम जोलाहा र आसिफ अन्सारीलाई ३४ लाख नेपाली रुपियाँ र चार लाख ४० हजार भारतीय रुपियाँसहित पक्राउ गरिएको एसपी बोहोराले बताए ।
यसअघि आइतबार साँझ प्रहरीले स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगन्जका हबिब जसगढलाई पक्राउ गरेको थियो । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ तर त्यसको हालसम्म पुष्टि नभएको प्रहरीको भनाइ छ ।