काठमाडौं । मोरङमा अर्को विभत्स घटना दोहोरिएको छ । जिल्लाको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेको समाचारमा उल्लेख छ ।
उनका छोरा भाग्न सफल भएका छन् । प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरी हत्या गरेका छन् । गीताको घटनास्थलमै ज्यान गएको थियो । लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताएका छन् ।
मृतकहरु निर्मला राईको घरमा चार वर्षदेखि डेरा बस्दै आएका थिए । मंगलबार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो, लगतै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो । गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगतै चिकित्सकले मृत घोषित गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।