सत्तारुढ दलका शीर्ष तीन नेताबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सिंहदबारमा भेटवार्ता भएको छ । प्रदेश सरकार गठनको विषयमा सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिबारे तीन नेताले छलफल गरेका हुन् ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले समग्र राजनीति परिस्थितिको समीक्षा गरिएको बताए । सत्ता गठबन्धनमा असन्तुष्टि जनाउँदै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग बुधबार साँझ भेटघाट गरेका थिए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर सरकार बनाउन खोजेका थिए । तीन नेताबीच यस विषयमा पनि छलफल भएको लामिछानेले बताए । तर प्रदेशमा देखिएका सामान्य समस्याले केन्द्रमा गठबन्धनमा खटपट नआउने उनले बताए ।