काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत लिने भएका छन् । उनले ७ जेठमा विश्वासको मत लिने भएका हुन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको जानकारी सभामुख देवराज घिमिरेलाई गराइसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ । २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले ३० फागुनमा तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १५७ सांसदको समर्थन पाएका थिए ।
उनले ६ चैतमा दोस्रोपटक र २६ पुसमा पहिलोपटक विश्वासको मत पाएका थिए । पहिलोपटक विश्वासको मत लिँदा २६८ सांसदको अभूतपूर्व समर्थन पाएका प्रचण्डले दोस्रोपटक १७२ सांसदको साथ पाएका थिए । तेस्रोपटक उनले दोस्रोपटकको तुलनामा १५ मत कम पाएका थिए ।