काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका—९, मनमैजुमा एक जना प्रहरी जवान मृत फेला परेका छन् । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । बिहीबार ड्यूटी सकेर निस्किएका उनी त्यसपछि कार्यालयमा फर्किएका थिएनन् ।
अपराह्न मृत भेटिएको खबर आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको हो । घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतका अनुसार, निर्माणाधीन घरको तल उनी मृत अवस्थामा भेटिएका हुन् । शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको छ ।