काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको छ । ढकाललाई पार्टीको अनुशासन आयोगले शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेको हो। महामन्त्री ढकालले आफ्नो सचिवालयमा पत्र आइपुगेको जानकारी दिएका छन् । आफुलाई सभापतिबाहेक अरुले स्पष्टीकरण सोध्न नमिल्ने भन्दै उनले पत्र भने बुझेका छैनन् ।
महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेका कारण रास्वपाभित्र खैलाबैला मच्चिएको हो । सो प्रतिवेदनमा भएका महत्वपूर्ण बुँदासमेत महामन्त्री ढकालले सार्वजनिक गरेको भन्दै अनुशासन आयोगले ढकाललाई स्पष्टीकरण सोधेको हो । महामन्त्री ढकालले आफ्नो प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।
तर अहिलेसम्म सो प्रतिवेदन सार्वजनिक भएको छैन । प्रतिवेदनमा समावेश विषयवस्तुबारे महामन्त्री ढकालले सार्वजनिक गरेको आरोप लागेको छ । सो प्रतिवेदनमा महामन्त्री ढकालले किन्तु र परन्तु नलगाइ प्रदेश संरचना खारेजीको पक्षमा उभिनुपर्ने उल्लेख गरेको बताएका थिए ।