इरान राष्ट्रपति निर्वाचन : पहिलो चरणमा पुगेन बहुमत

काठमाडौं । इरानमा सम्पन्न राष्ट्रपति निर्वाचनमा कसैको पनि बहुमत नपुगेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । अब दोस्रोपटक मतदान हुने भएको छ । दोस्रो पटकको मतदान ५ जुलाईमा तोकिएको छ । इरानका तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ शुक्रबार राष्ट्रपति पदको निर्वाचन भएको हो । प्रतिस्पर्धामा कट्टरपन्थी उम्मेदवार सइद जलिली र सुधारवादी नेता मसुद पेजेशकियान छन् ।

मसुदले सबैभन्दा धेरै भोट पाएका छन् । चुनाव आयोगका प्रवक्ता मोहसेन इस्लामीले सरकारी टेलिभिजनमार्फत् नतिजा सार्वजनिक गर्दै २ करोड ४५ लाख मतमध्ये मसुदले १ करोड ४० लाख र जलिलीले ९४ लाख मत प्राप्त गरेको जानकारी दिए । सबैभन्दा धेरै मत ल्याए पनि मसुदले बहुमत हासिल गर्न भने सकेनन् । बीबीसीका अनुसार बहुमत हासिल गर्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । त्यसैले ५ जुलाईमा पुनः निर्वाचन हुने बीबीसीले जनाएको छ ।

सबैभन्दा धेरै भोट पाएका मसुदले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले ५ जुलाईको निर्वाचनमा अधिक भाग लिन र देशलाई गरिबी, भेदभाव र अन्यायबाट जोगाउने पक्षमा उभिन आह्वान गरेका छन् । गत शुक्रबार भएको निर्वाचनमा एकदमै कम भोट खसेको बीबीसीले जनाएको छ । त्यसो हुनुमा इरानको सरकारप्रति बढ्दो असन्तोष कारण हुनसक्ने अनुमान छ ।