काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने निर्णय लिएको छ । प्रधानमन्त्री प्रचण्डले मूख्य साझेदार एमालेको समर्थन फिर्ता लिएसँगै उनी कामचलाउ हैसियतमा पुगेका छन् । अबको ३० दिनमा उनले संसदबाट विश्वसको मत नलिए उनको पद स्वतल्ः निष्कृय हुनेछ । बिहीबार रास्वपका मन्त्रिहरु प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा बुझाउने तयारीमा थिए ।
बालुवाटार पुगेका उनीहरुसँग प्रधानमन्त्रीले सहयोग मागे । बिहान ८ बजे चिठी बोकेर पुगेर पुगेका मन्त्रीहरुमा पार्टी सभापति तथा उपप्रधानमन्त्री रवि लामिछाने सहित पार्टीका उपसभापति समेत रहेका श्रममन्त्री डिपी अर्याल थिए । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार उनीहरुसँगै थिए ।
प्रचण्डले भने आफूले संसदमा विश्वासको मत लिने तयारी गरेको भन्दै त्यसबेलासम्म कुर्न आग्रह गरे । प्रधानमन्त्रीसँग बैठकपछि पार्टीका संसदीय दल प्रमुख सचेतक सन्तोष परियारले भने, ‘उहाँले विश्वासको मत लिन्छु, म सदन फेस गर्छु भनिसकेपछि उहाँको संवैधानिक अधिकारलाई त सम्मान गरिदिनुपर्यो नि ।’
सत्ता गठबन्धनमा आफ्नो पार्टी साझेदार भइसकेपछि सरकार नढल्दासम्म आफ्नो जिम्मेवारी रहिराख्ने रास्वपा नेतृत्वको तर्क छ । प्रमुख सचेतक परियार भन्छन्, ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत लिन ढिला नगर्नुस् भनेका छौं, प्रधानमन्त्रीले म विश्वासको मत लिँदैछु भनिसकेपछि सत्ता साझेदार दलका हिसाबले जिम्मेवारी हाम्रो पनि हो नि त ।’