काठमाडौं उपत्यकाका नदी किनार डुबानमा, नदीको सतह खतराको चिन्हभन्दा माथि

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका अधिकांश नदी किनार डुबानमा परेका छन् । गत रातीबाट परेको बाढीले भक्तपुर, ललितपुर र काठमाडौंका धेरैजसो क्षेत्र जलमग्न भएका छन् । हनुमन्ते खोलाले भक्तपुरमा डुबान ल्याएको छ । नागार्जुनमा पहिरो जाँदा एक जनाको निधन भएको छ । काठमाडौंको नागार्जुन नगरपालिका ३ सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको हो ।


शनिबार विहान सवा ११ बजे स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका-६ घर भएका २२ वर्षका मनोज बिकको मृत्यु भएको हो । किचन हेल्परका रुपमा काम गर्ने बिक पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

वर्षाका कारण काठमाडौंको सबैजसो नदीको जलसतह बढेको छ । भक्तपुरमा नदी तथा खोला किनारका बस्तीका कतिपय घर डुबानमा परेका छन् । मध्यपुर थिमी नगरपालिका २ दिव्येश्वरी प्लानिङ नजिक १८ वटा टहरा मनोहरा खोलाले डुबाएको छ । विभिन्न जिल्लाबाट आई ज्याला मजदुरी गरी बसेका ५६ जना बस्ने टहराहरु खोलाले डुवाएका कारण उनीहरु आफन्तकोमा शरण लिन पुगेका प्रहरीले जनाएको छ ।


मध्यपुर थिमी नगरपालिका(३ कौशलटार नजिक हनुमन्ते खोलामा आएको बाढीले आश्विन आचार्यको जस्ताको टहरा डुबाएको छ । चागुनारायण नगरपालिका(४ नयाँ खोरिया स्थितमा रहेको डिप बोरिङ र पानी पाले बस्ने १ तल्ले पक्की घर पहिरोको जोखिममा परेको छ । वर्षापछिको पहिरोले काठमाडौंको तारकेश्वर नगरपालिका जितपुर फेदी र दक्षिणकाली नगरपालिका छैमलेमा एक एक वटा घर भत्किएको छ । काठमाडौं महानगरपालिका घट्टेकुलोमा भित्री सडक भासिएको छ ।