वर्षा र पहिरोले सुदूरपश्चिममा सडक अवरुद्ध

file

काठमाडौं । अविरल वर्षा र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा सडक अवरुद्ध भएको छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा र अछाममा सडक अवरुद्ध भएका छन् । यी जिल्लामा ग्रामीण सडकहरू पनि पूर्ण रुपमा बन्द भएका छन् ।

दार्चुलाको मालिकार्जुन नगरपालिका, २ को पनेबाज, बैतडीको सुर्नया गाउँपालिका,६ तर्फको ढोल्यामोड, बझाङको तमैल र अछामको साफे–मार्तडी सडकखण्ड अन्तरगत साफेबगर नगरपालिका, १३ को बुढाबगरमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध राजमार्गलाई खुलाउने प्रयास भइरहेको सम्बन्धी जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । डडेल्धुराको रडुवामा पहिरो खसेको छ तर पहिरो ठूलो नभएका कारण एकतर्फी सडक सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

आलिताल गाउँपालिकाको सुनखोला भन्ने ठाउँमा पहिरो खसेपछि बुडर(जोगबुढा सडकखण्ड पनि अवरुद्ध भएको छ । यस्तै, वर्षाका कारण पहिरोको जोखिममा परेका २८ भन्दा बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । दार्चुलाको मार्मा गाउँपालिका(२ का १० परिवार पहिरोको जोखिममा परेका कारण उनीहरुलाई स्थानीय सामुदायिक विद्यालयमा सारिएको छ ।

अछामको चौरपाटी गाउँपालिका(६ का ९ परिवार र मंगलसेन नगरपालिका ८ का ९ परिवारलाई पनि सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, बझाङमा सेती नदीको बाढीको जोखिममा परेका ६ परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत थापाले थलारा गाउँपालिकाको झ्याँबगर भन्ने ठाउँमा गोठ बनाएर बसेका दुई र केदारस्युँ गाउँपालिकाको रायलका चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको बताए । निरन्तर वर्षा भइरहेका कारण पहिरोका साथै तटीय क्षेत्रमा बाढी तथा डुबानको जोखिम भएकाले सचेत रहन स्थानीय प्रशासनले आग्रह समेत गरेको छ ।