काठमाडौं । नेकपा (एमाले) सचिवालय बैठक आज बोलाइएको छ । मंगलबार दिउँसो १ बजेलाई तय भएको बैठक बुधबार बिहान ११ बजेलाई सारिएको हो । पार्टी कार्यालय च्यासलमा बस्ने आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने बताइएको छ । यसअघि फरक जिल्ला कार्यक्षेत्र रहने गरी गरिएको कार्यविभाजन परिवर्तन हुनेछ। यसअन्तर्गत् जिल्ला र जनसंगठन इन्चार्जहरू परिवर्तन हुनेछन्।
एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ। असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो।
सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन्। उनले दुई वर्ष सरकार सञ्चालन गर्ने र त्यसपछिको बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।
कांग्रेससँगको सहमतिपछि एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो। तर प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वास मत लिने तयारी गरेका छन्। आजको सचिवालय बैठकमा यसबारे पनि छलफल हुनेछ।