काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेको भोलिपल्ट मुकुल ढकाल सभापति रवि लामिछानेविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । केन्द्रीय समितिले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गर्दै उनले रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने समेत बताए ।
उनी करीव ४५ मिनेट एकतर्फी बोले । अन्तिममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ नदिई हिँडे । मुकुलले विगतमा आफूले रवि लामिछानेको हरेक कदमको बचाउ गर्ने गरेको र पछिल्लो समय सम्बन्ध बिग्रेको खुलासा गरे ।
ढकालले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएकाहरुको समीक्षा गर्नुपर्ने विषय उठाएपछि लामिछानेसँग विवाद भएको उनले बताए । ‘मूल विवाद भनेको सरकारले काम गर्न सकेन, अक्षम हुनुभयो, यो अक्षमता किन हो, जनताका अगाडि आत्मआलोचना गरेर अगाडि बढौं, हामीले चाहदाचाहँदै पनि केही कुराहरु भएनन्, कर्मचारीतन्त्रले दिएन देखि धेरै कुरा छ, सबै कुरा खुलमखुला भनौं, लाइभ गरौं अब पारदर्शी बनौं भन्दा उहाँले गृह मन्त्रालयले जति काम त कसैले गरेको छैन, यो देशको सबैभन्दा सफल गृहमन्त्रीका रुपमा आफू उपस्थित भएको छु भन्ने दाबी गर्नुभयो, त्यो दाबी मलाई चित्त बुझेन’, ढकालले भने ।
ढकालले राहदानी र सहकारी ठगी प्रकरणमा लामिछानेमाथि पार्टीभित्रैबाट छानबिन हुनुपर्ने बताए । गत बिहीबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले सहकारी प्रकरणमा लामिछानेमाथि छानबिन हुनुपर्ने राय दिएको भन्दै उनले रास्वपाले पनि सर्वोच्चको आदेश अनुसार छानबिन गर्नुपर्ने बताए ।
मुकुलले सभापति लामिछानेमा पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको शैली मन पर्न थालेको बताए । उनीहरुको शैली मन पर्ने व्यक्तिलाई आफ्नो शैली बालापन लाग्नु स्वभाविक भएको बताए ।