बागलुङमा पहिरो : कम्तिमा ६ जनाको मृत्यु

काठमाडौं । बागलुङको बडीगाड गाउँपालिका–१० मा घरमा पहिरो खस्दा ६ जनाको ज्यान गएको छ । ४ जना बेपत्ता भएका छन् । पहिरोमा परेर ९ जना घाइते भएका छन् । पहिरो खस्दा घरधनी ७८ वर्षका जोगबहादुर बुढा, उनकी नातिनी ७ वर्षकी मालती बुढा, ८ वर्षीय अमन बुढा, ११ वर्षीया सीता पुन, ७० वर्षीया मोतीदेवी कामी, ६ महिनाकी सीता विकको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांग बरालले जानकारी दिएका छन् ।

जोगबहादुरकी नातिनी ७ वर्षकी मधु बुढा, ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक बेपत्ता छन् । घरमाथिबाट पहिरो खस्दा ५ जनाको घटनास्थलमै र घरधनी जोगबहादुरको उपचारका लागि काठमाडौं पठाउने तयारी गर्दागर्दै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मंगलबार बिहानैदेखिको झरीले बडीगाडका विभिन्न ठाउँमा पहिरो खसिरहेको थियो भने आरुपाटाको खहरे खोलाले आसपासका घरलाई पनि तान्न सक्ने त्रास गाउँलेमा बढेको थियो । बाढी आएका कारण खोला तरेर बुर्तिबाङ बजार जानेहरु पनि रोकिएका थिए ।

वडा नम्बर १० कै निगलपानी गाउँबाट बुर्तिबाङ हिँडेकाहरु पनि तर्ने स्थिति नदेखिएपछि अलि सुरक्षित घर ठानेर आरुपाटाका जोगबहादुर बुढाको घरमा ओत लागेर बसेका थिए । खोलाको आडमै रहेका छिमेकी पनि सुरक्षित ठानेर त्यही घरमा बस्न पुगेका थिए ।

बुर्तिबाङ हिँडेका र छिमेकीसमेत गरेका जोगबहादुरको घर र गोठमासमेत गरेर करिब २० जनाले शरण लिइरहेका थिए । बिहान सवा ११ बजेको हुँदो हो, सुरक्षित भनेर ओत लागेको त्यही घरमा पहिरो खस्यो र एकाएक बबण्डर मच्चायो ।
बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांग बरालका अनुसार पहिरो परेर ९ जना घाइते भएका छन्, जसमध्ये २ जनाको अवस्था गम्भीर छ ।

जोगबहादुरका छोरा तेजेन्द्रले दौडिएर ज्यान बचाए । अर्का छोरा ज्ञानेन्द्र छिमेकीको घरमा पहिरोले क्षति पुर्‍याएपछि उद्धारका लागि गएका थिए । त्यही बेला खसेको पहिरोमा आफ्नै परिवार, छिमेकी र ओत लाग्न बसेकाहरु परेपछि, उनी आफैं भावविह्वल हुँदै उद्धारमा खटिएका छन् ।

सल्लेना खोला आसपासमा आरुपाटा, बाख्रे, सल्लेना, पात्ले नाम गरेका ससाना बस्तीहरु छन् भने क्वालजिङ नाम गरेको गाउँ पनि जोखिममा छ । ती गाउँमा साना साना केही खोलाहरु छन् र तीमध्ये सल्लेना एउटा हो । स्थानीय बोमबहादुर बुढाका अनुसार छिमेकीमात्र नभएर बुर्तिबाङ जाने भनेर हिँडेका मानिसहरु पनि त्यहीँ घरमा बसेका थिए । एसइई दिन र काम विशेषले निगलपानी भन्ने ठाउँबाट बुर्तिबाङ हिँडेकाहरु पनि पहिरोमा परेका छन् ।

बेपत्ता ३ वर्षीय आरुष थापा, १० वर्षीय मनोज बुढा र ११ वर्षीय सुमन विक छिमेकका थिए, जो सुरक्षित ठानेर जोगबहादुरको घरमा ओत लाग्न पुगेका थिए । आरुषकी आमा सीता थापा गम्भीर घाइते छिन् भने बुबा कुलबहादुर दौडिएर बाँचेका छन् ।


पहिरो खस्दा २६ वर्षीय ओमप्रसाद पुन, ४६ वर्षीया संगीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेनबुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय शशीराम विक, ९ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीय सीता थापा घाइते छन् । रीमा पुन एसइईको पुरक परीक्षा दिने तयारीका लागि आरुपाटाभन्दा माथिको गाउँबाट बुर्तिबाङ बजार जाँदै गर्दा सो घरमा खोला तर्न नसकेर रोकिएकी थिइन् ।
स्थानीय सञ्चारमाध्यमको सहयोगमा