नेपाली र हिन्दी मिश्रित गीत अमेरिकाको टाइम्स स्क्वायरबाट सार्वजनिक

काठमाडौं । नेपाली र हिन्दी भाषा मिश्रित म्युजिक भिडियो झ्याइँ न्यूयोर्कको टाइम्स स्क्वायरबाट सार्वजनिक गरिएको छ । दुई ठूला स्क्रिन नास्दग र मिडटाउनबाट शनिबार उक्त म्युजिक भिडियो सार्वजनिक गरियो । अमेरिकी प्रडक्सन कम्पनी ‘एटमुन’ले नेपाली कलाकार र बलिउडका चर्चित प्रोडक्सन टिमसँगको सहकार्यमा बनाएको म्युजिक भिडियो निर्माणमा करिब १० करोड रुपैयाँ खर्च गरिएको छ । यो गीत अमेरिकामा जन्मेहुर्केकी गायिका मन्जयाश्री भट्टले गाएकी हुन् भने गीतमा देव नेगीले पनि स्वर दिएका छन् ।

गीतको भिडियोमा पनि मन्जयाश्री आफैँ देखिएकी छिन् । उक्त गीतमा चर्चित नेपाली लोकगीत झ्याइ पार्‍यो मलाई रत्यौलीको झिल्केले झ्याइ पार्‍यो बोलको गीतको अंशसमेत समावेश गरिएको छ । बलिउडका चर्चित सिनिमेटोग्राफर विनोद प्रधानको निर्देशन रहेको गीत उनी आफैँले खिचेका छन् । यो गीतमा मन्जयाश्रीसँगै अर्का नेपाली राहुल शर्मा जोडिएका छन् ।

राहुल मुम्बई बसेर साउन्ड इन्जिनियरिङ गर्छन् । यो गीतमा साउन्ड इन्जिनियरिङको भाग उनैले सम्हालेका हुन् । गीतको मिक्सिङ र मास्टरिङ शर्माले नै गरेका हुन् । बलिउडकै प्रख्यात निर्देशक सञ्जयलीला भन्साली, धर्मा प्रोडक्सनसँग काम गरिसकेका राहुलले हिरामण्डी, मिर्जापुर, गणपथ, फोनबुथ लगायत फिल्ममा साउन्ड इन्जिनियरका रुपमा काम गरिसकेका छन् ।

ुपठानु र ुवारुजस्ता फिल्ममा कोरियोग्राफी गरेका चर्चित कोरियोग्राफर बोस्को सिजरले यो गीतको कोरियोग्राफी गरेका हुन् । एटमुन ठूलो बजेटका म्युजिक भिडियो मात्रै होइन, सहकार्य गरेरै ठूला बजेटकै फिल्म निर्माण गर्ने योजनामा छ । मन्जयाश्री एटमुनले निर्माण गर्ने फिल्ममा पनि देखिने बताइएको छ । एटमुन अमेरिकामा अवस्थित चर्चित प्रोडक्सन कम्पनी हो ।

एटमुनका अनुसार यो गीत बलिउडमा बनेका म्युजिक भिडियोमध्ये धेरै खर्चमा बनेको गीत हो । गीतको एउटा दृश्यमा मन्जयाश्री सिंहासनमा बसेको देखाइएको छ । उक्त गद्दीमा उनी बसेको दृश्यमा उनले लगाएको पहिरन वास्तविक सुनजडित हो । साथै, सुनजडित गद्दी नै निर्माण गर्न डिजाइनरलाई महिनौं लागेको बताइएको छ ।