आँबुखैरेनी दुर्घटनामा मृतकको संख्या २७ पुग्यो

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहरा नजिकै भएको बस दुर्घटनामा मृत्यु भएकाको संख्खा २७ पुगेको छ । शवको भरतपुर अस्पतालमा पोष्टमार्टम थालिएको छ । बिहान ८ बजेदेखि पोष्टमार्टम सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार मध्यान्न १२ बजेसम्म सबै शवहरुको पोष्टमार्टम सकेर सम्बन्धित पक्षलाई जिम्मा लगाइनेछ । एउटा शवको पोष्टमार्टम गर्न १० देखि १५ मिनेट लाग्ने डा. पौडेलले बताए । अस्पतालका फरेन्सिक चिकित्सक डा. कश्यप श्रेष्ठको नेतृत्वमा ३ जना चिकित्सकहरुको टोलीले शवहरुको पोष्टमार्टम गरिरहेको छ ।

शुक्रबार राति साढे १२ बजेतिर १३ वटा गाडीमा राखेर शवहरू अस्पतालमा ल्याइएको थियो । एक जना घाइतेको भरतपुरमा नै उपचारका क्रममा मृत्यु भएकोको थियो । दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।