काठमाडौं । सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चलेको छ । घटनामा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम प्रहरीले खुलाएको छैन । बिहीबार बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । प्रहरीका अनुसार गोली लागेर मृतक चित्रलेखाका ससुरा ५४ वर्षीय रामदिनेश राय घाइते छन् । उनलाई वायाँ हातमा गोली लागेको छ ।
घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । डिएसपी श्रेष्ठका अनुसार चित्रलेखाका श्रीमान् एक महिना अघि मात्र कुवेतबाट घर आएका थिए । उनी घर आएदेखि परिवारका सदस्यहरुसँग बेलाबेला झगडा भइरहन्थ्यो । त्यसपछि उनी घरबाट हिँडेका थिए । गएराति एक्कासी एकजना साथीसँग मोटरसाइकलमा आएको र घरमा गोली प्रहारको घटना भएको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्ति चित्रलेखाकै श्रीमान् हुन् वा उनले अरु कसैलाई गोली हान्न लगाए भन्नेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरु थप पुष्ट्याइँको प्रयासमा छन् । त्यसैले जिल्ला प्रहरी कार्यालयले चित्रलेखाका श्रीमानको नाम गोप्य राखेको जनाएको छ ।