काठमाडौंको गोकर्णेश्वरमा एकै परिवारका तीन जना मृत फेला

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्छामा एकै परिवारका तीन जना मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालक मृत भेटिएका हुन् ।

श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेका थिए । पछि जाँच गर्दा बन्द कोठाभित्र शव भेटिएको बताइएको छ । शव कम्तीमा दुई साता पुरानो हुनसक्ने प्रहरीको प्रारम्भिक जाँचबाट देखिएको छ । प्रहरीका अनुसार तीन जनाकै शव सडेको अवस्थामा फेला परेको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले गरेको स्थलगत जाँच, छिमेकीहरुसँगको सोधपुछ र मृतकका श्रीमानको बयानका आधारमा तीनै जनाको कम्तीमा दुई साताअघि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको हो । कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी वृत्त, बौद्ध र जिल्ला प्रहरी परिसर, काठमाडौंले खोजी थालेको थियो ।

त्यसक्रममा बिहीबार अपराह्न आफ्नै घरको बन्द कोठाभित्र ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र छोरा दुई महिनाका बालकको शव भेटिएको थियो । प्रहरीका अनुसार, घरमा बाहिरबाट ताला लगाएकाले श्रीमती कतै गएको हुनसक्ने अनुमान गरेको श्रीमान् कान्छा नगरकोटीले बयान दिएका छन् ।