काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । फ्रन्टलाइन अस्पतालका अनुसार ढुंगाना घरमा बेहोस भएपछि अस्पताल ल्याइएका थिए ।
काठमाडौं महानगरपालिका– ९ बत्तीसपुतलीस्थित निवासमा दिउँसो परिवारका सदस्यसँग कुरा गरिरहेका बेला १ बजेर ९ मिनेटमा एक्कासी बेहोस भएपछि ढुंगानालाई अस्पताल लगिएको थियो । कलेजोसम्बन्धी समस्या देखिएका ढुंगाना घरमै औषधि उपचार गराइरहेका थिए ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले नाडी, मुटुको धड्कन र श्वासप्रश्वासको अवस्था जाँच गरेका थिए । ती कुनै पनि नचलेको पाइएपछि १ बजेर ४० मिनेटमा मृत घोषणा गरेका थिए । पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् ।
०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा पनि लागे । ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए । ०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बने । ०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना शान्ति अभियानमा खुलेर लागेका थिए । उनी सरकार-माओवादी शान्ति वार्ताका सहजकर्ता थिए ।