माओवादीको गढमा एमाले र कांग्रेसले गरे तालमेल

काठमाडौं । १६ मंसिरमा हुने उपनिर्वाचन अन्तर्गत रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र एक वडाध्यक्ष पदमा नेपाली कांग्रेस र एमालेले तालमेल गरेका छन् । यो माओवादी केन्द्रको बलियो आधार क्षेत्र मानिन्छ । सत्ता साझेदार दुई ठूला दलले तालमेल गरेका हुन् । दुई दलबीच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेले उम्मेदवारी दिएको छैन । बरु एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचनले कांग्रेस उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएकी छन् ।

आइतबार उम्मेदवार मनोनयन गर्नुअघि दुई दलले लिखित सहमति गरी एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचन दुवै पार्टीको तर्फबाट साझा उम्मेदवार बनेकी छन् । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस र एमाले उम्मेदवारभन्दा माओवादी उम्मेदवार भूपेन्द्रा बुढा मगरले दोब्बर मत ल्याएर विजयी भएकी थिइन् ।

भूपेन्द्रा बुढा ४ हजार ५९ मत ल्याएर निर्वाचित भएकी थिइन् भने कांग्रेसका कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए । पुथामा ११ हजार १ सय ८० मतदाता रहेका छन् । माओवादी केन्द्रबाट विजयी बुढाको असोजमा बागलुङमा भएको सवारी दुर्घटनामा परेर ज्यान गएपछि उपनिर्वाचन हुन लागेको हो ।