विभिन्न पार्टीसँग एकता गर्न माओवादीले संवाद समिति बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले माओवादी धारका पार्टीहरूसँग एकता गर्न उच्चस्तरीय संवाद समिति बनाउने भएको छ। आइतबारदेखि काठमाडौंमा सुरू केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टी एकताको सन्दर्भमा विगतबाट पाठ सिक्नुपर्ने पनि बताए। ‘विगतमा स्कुलिङ नमिल्ने पार्टीबीच पर्याप्त तयारी नगरी एकता गर्दा अपेक्षाकृत परिणाम हासिल हुन सकेन।

त्यसैले सकेसम्म जनयुद्धमा भाग लिएका वा शुभेच्छुकहरूसँगको एकतालाई प्राथमिकता दिइनेछ,’ अध्यक्ष प्रचण्डले भने, ‘यसै सन्दर्भमा विप्लव नेतृत्वको नेकपा, नेपाल समाजवादी पार्टी र नेकपा ९बहुमत० सँगको एकतालाई अघि बढाउन उच्चस्तरीय संवाद समिति बनाएर अघि बढाइनेछ।’

यसअघि पनि माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीचमा एकता गर्ने भनेर संवाद सुरू भएको थियो। विप्लवको पद व्यवस्थापनबारे माओवादी केन्द्रमा कुरा नमिलेपछि उक्त विषय पछिल्लो समयमा रोकिएको थियो। केही अघि कपिलवस्तुको शिवगढीमा बसेको नेकपाको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र पार्टी एकताका लागि उदासिन भएको निष्कर्ष निकालेको थियो।

यस्तै महिन्द्र राय यादव नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) सँग पनि माओवादीले पार्टी एकताको निर्णय गरेको थियो। यादव प्रतिनिधि सभा सदस्य छन्। २०७९ को चुनावमा नेसपा अध्यक्षसमेत रहेका यादवले नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचन जितेका थिए।

२०८० चैत ३ गते बालुवाटारमा यादवलगायतले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेकोमा अर्का अध्यक्ष बाबुराम भट्टराईले विरोध गरेका थिए। भट्टराई अहिले नेसपा (नयाँ शक्ति) का अध्यक्ष छन्। साथै धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) सँग पनि पार्टी एकताका लागि माओवादी केन्द्र संवादमा छ।