काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन् । तीन जना बस्ने गरेको ब्यारेकको कोठामा महिला प्रहरी जवान निशा चौधरी सिलिङ फ्यानमा आफ्नै सलको पासो लगाएर झुन्डिएको अवस्थामा बुधबार मध्यान्ह करिब १२ बजेतिर मृत फेला परेको प्रहरीले जनाएको छ । चौधरीसँगै तीन जना बुधबार बिहान शाली नदी मेलाको ड्युटीका लागि भनेर खटिएका थिए ।
उनीसँग एउटै कोठामा बस्ने तीन जना ड्युटीमा खटिएकोमा दुई जनाले भने शाली नदी मेलामै खाना खाएका थिए । चौधरी भने ब्यारेकमै खाना खाने भन्दै फर्किएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताएका छन् । खाना खान भनेर आएकी चौधरी आफू सुत्ने कोठामा पसेकी थिइन् । तर, लामो समयसम्म पनि कोठाबाट बाहिर ननिस्केको र बोलाउँदा पनि नबोलेपछि झ्याल फोडेर हेर्दा उनी सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा मृत फेला परेको पाइएको छ ।
बर्दिया घर भएकी २३ वर्षीया चौधरी प्रहरी सेवामा प्रवेश गरेको तीन वर्ष मात्रै भयो । प्रहरी वृत्त गौशालामा कार्यरत उनी शाली नदी मेलाको ड्युटीका लागि थप मद्दत भन्दै खटिएकी थिइन् । विवाहित चौधरीका श्रीमान भने वैदेशिक रोजगारीमा विदेश रहेको पाइएको छ । परिवारका आफन्त आएपछि शव उठाएर पोस्ट मार्टमका लागि पठाउने तयारी प्रहरीको छ ।