काठमाडौंमा स्कुल बसको लापरवाही, एक सातामै ५ जनाको ज्यान गयो

काठमाडौं । काठमाडौंमा लापरवाहीपुर्वक चलाइएका स्कुल बसका कारण दुई दिनमा चार जनाको ज्यान गएको छ । बुधबार काठमाडौंको शंखरापुर नगरपालिका– ५, कात्तिकेमा स्कुल बस दुर्घटनामा परेको छ । जसमा ३ जनाको ज्यान गएको छ । पिक्निक मनाएर फर्कंदै गरेको एसएस एकेडेमी चाबहिलको विद्यार्थी बोकेको बस ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीले बताएको छ । जसमा परी क्रिसल पुरी, सुरेश तामाङ र शुशांका डोटेलको मृत्यु भएको छ ।

कपन बस्ने ११ वर्षका मोरङका क्रिसल पुरीको त्रिवि शिक्षण अस्पतालमा र भिम्सेनगोला बस्ने १४ वर्षका सिन्धुपाल्चोका शुशांका डोटेलको शंखरापुर अस्पतालमा मृत्यु भएको हो । चाबहिल बस्ने २४ वर्षका सिन्धुपाल्चोकका सुरेश तामाङको नेपाल मेडिकल कलेजमा मृत्यु भएको थियो । तामाङ विद्यालयका शिक्षक हुन् ।

दुर्घटनामा ४० जना घाइते भएका थिए । विद्यार्थी बोकेको सुन्दरीमाइ यातायातको बा २ ख ७९५८ नम्बरको बस बुधबार दिउँसो पिक्निकबाट फर्कने क्रममा ४:५० बजे दुर्घटना भएको थियो । बसमा २ देखि ९ कक्षासम्मका विद्यार्थी थिए ।

यसअघि आइतबार दक्षिणकाली नगरपालिका–३ भन्ज्याङमा जुनकिरी इंग्लिस बोर्डिङ स्कुलको विद्यार्थी बोकेको बस विद्यार्थी छोड्न फर्पिङतर्फ जाँदै गर्दा चालक र १ विद्यार्थीको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए । जुनकिरी इंग्लिस बोर्डिङको बा १ क ५६६४ नम्बरको बस सडकबाट १ सय ५० मिटर तल डल्लु खोलामा खस्दा ३५ वर्षका चालक राधाकृष्ण मगर र ८ वर्षका विपिन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको थियो ।