काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा सभा आयोजना गरेको छ । आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी पार्टीले गरेको छ । ११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किने भएको छ ।
सभामा ‘३० औं हजार सहभागी हुने अपेक्षा पार्टीको छ । सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका पार्टीका नेताहरुले सम्बोधन गर्ने छन् । अध्यक्ष लिङ्देन सोमबार बेलुकी सभास्थल बल्खु पुगेर स्थलगत अनुगमन गरेका छन् । राप्रपाको यो बागमती प्रदेशस्तरीय सभा हो । बागमती प्रदेशका जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा भेला गराइएको छ ।
यसअघि राप्रपाले भृकुटीमण्डपमा सभा गर्न खोजेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै बल्खु वा सिफल चौरमा सभा गर्न भनेको थियो । त्यसपछि राप्रपाले सभास्थलको रुपमा बल्खु रोजेको हो । सभा व्यवस्थित गर्न स्वयंसेवक परिचालन गरिने छ । उनीहरुले सभालाई व्यवस्थित बनाउन र घुसपैठ रोक्न भूमिका खेल्ने छन् । यसअघि राप्रपाका नेताहरुसमेतको सहभागितामा राजावादीहरुले चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बनेकाले राप्रपाको मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।
सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । सभास्थल वरपर दुई हजार संख्यामा प्रहरी खटाइने छ । सीसीटीभी र ड्रोनबाट समेत निगरानी गर्ने तयारी छ । राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् ।