२८ साउन, देउखुरी । पंछी संरक्षणका क्षेत्रमा अभियान चलाउँदै आएका जानकार एवं सरोकारवालाहरूले चरा संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् । नेपाल पक्षी संरक्षण सङ्घ नेपालले चरा संरक्षणका लागि आज आयोजना गरेको छलफलमा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरणप्रसाद कलवारले चरा संरक्षणका लागि सबै नागरिकलाई जानकारी गराउन चेतानामूलक कार्यक्रम गर्नुपर्ने बताए । उनले भने, “प्रदेश सरकारले चरा संरक्षणका लागि केही बजेट छुट्याएको छ, चराचुरुङ्गी मानिसका सहयोग हुन्, उनीहरूको संरक्षण गर्नु मानवको दायित्व हो । उनीहरूले हानिकारक किराफट्याङ्ग्रालाई खाने भएकाले बालीनालीमा रोगकीराको प्रकोप कम हुने गर्छ ।”
चरा विज्ञ आनन्द चौधरीले बसाइँ सर्ने क्रममा चराले लामो यात्राको प्रयास गर्ने र त्यसक्रममा उनीहरूलाई आराम गर्नका आवश्यक स्थान जोगाउनुपर्ने बताए । जलवायु परिवर्तनका हिसाबले पनि चरालाई समस्या हुने गरेको उनको भनाइ छ । चौधरीका अनुसार चरा सङ्कटमा पर्नुका प्रमुख कारणमध्ये बासस्थानको विनाश, जलवायु परिवर्तन, मानव निर्मित भौतिक पूर्वाधार हो । उनी भन्छन, “चरा खतराको सूचकमात्रै होइन अवसर हो ।” अर्बौं चराले जाडो छल्नदेखि प्रजनन गर्ने क्षेत्रमा बसाइँसराइ गर्दा हिमाल, मरुभूमि, समुन्द्र उस्तैउस्तै मार्ग प्रयोग गरेर पार गर्ने उनले जानकारी दिए ।
चराका विषयमा धेरै वर्षदेखि आफू अनुसन्धानमा सक्रिय रहेको उल्लेख गर्दै उहाँले सो सम्बन्धमा स्थानीय तहलाई सहयोग गर्न तयार रहेको बताए । चौधरीले भने, “चराको विषयमा गहिरो तरिकाले अध्ययन भएको छैन । चरालाई के कारणले असर गरेको छ, त्यसका बारेमा अध्ययन हुनुपर्छ ।” देउखुरीमा चरा अध्ययन गर्न पर्यटक आउने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । विज्ञ चौधरीले चरा संरक्षणका लागि सरकारी निकाय, स्थानीय र आदिवासी समुदायसँग सहकार्य गर्दै चरा तथा जैविक विविधता क्षेत्रको महत्त्व उजागर गर्ने उदेश्य रहेको बताए ।
उनले आगन्तुक चराका लागि अतिआवश्यक बासस्थानहरूको पहिचान, अनुगमन र संरक्षण सुनिश्चित गर्ने, जनसमुदायलाई सचेतना कार्यक्रम सञ्चालन गर्ने र क्षमता अभिवृद्धि गर्ने बताए । डिभिजन वन कार्यालय दाङ देउखुरीका वन अधिकृत महेन्द्रराज वाग्लेले दाङमा भएका चरालाई कसरी संरक्षण गर्ने विषयमा सबै सचेत हुन आग्रह गरे । चराको महत्त्वका विषयमा स्थानीय समुदाय र स्थानीय सरकारलाई पर्याप्त जानकारी दिनुपर्ने उनको धारणा छ । उनले भने, “स्थानीय जनतालाई चरा संरक्षण गर्न प्रेरित गर्नुपर्छ, त्यसका साथै चराको बासस्थान जोगाउनुपर्छ ।”
लुम्बिनी प्रदेशका वन निर्देशक प्रभात सापकोटाले चराको संरक्षणका विषयमा सोच्ने र स्थानीय स्तरमा काम गर्ने गर्नुपर्ने बताए । पछिल्लो समय चराका विषयमा सामान्य तथ्याङ्क सार्वजनिक गरिए पनि यसलाई बृहत् रूपमा अध्ययन गर्नुपर्नेमा उनको जोड थिए । निर्देशक सापकोटाले विभिन्न समुदाय र समूहसँग समन्वय गरेर काम गर्न आफू प्रतिबद्ध रहेको बताए । लुम्बिनी प्रदेश वन मन्त्रालयका सचिव प्रमोद भट्टराईले चराले मानिसले रोपेका बाली बिरुवाका कीरा खाएर सहयोग गर्ने गरेको बताए ।
“चरा संरक्षणमा मन्त्रालयले पहल गर्नेछ”, उनले भने, “चराको बासस्थान सुरक्षा गर्नुपर्छ, त्यसका लागि प्राविधिक काम महत्त्वपूर्ण हुन्छ । चरा संरक्षणमा सहयोग गरेर सामाजिक संस्थाले सरकारलाई सहयोग गर्ने काम गरेका छन् ।” पर्यावरणीय दिगो बिकासका प्रमुख डिल्लीबहादुर रावतले पृथ्वीको कूचीकार गिद्ध संरक्षण गर्नुपर्नेमा जोड दिँँदै त्यसका लागि सबै निकाय निरन्तर सक्रिय हुनुपर्ने बताए । उनले जलविद्युत्का हाइटेसन तारका कारण समस्या परेकाले यस विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए ।