बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किए, २ को मृत्यु, ३ घाइते

२ भदौ, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका ७ स्पेसलचोकमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना भएको छ । घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । बागमती प्रदेश ०२–०४१ प ६८१९ को स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ को मोटरसाइकल आइतबार राति पौने २ बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा सिरहाको जन्दह घर भएका करिब २९ वर्षीय भोला थापा र अन्दाजी ३५ वर्षीय पुरुषको मृत्य भएको छ । उनीहरुलाई अस्पताल पुर्‍याइएकोमा चिकित्सकले राति सवा २ बजे मृत घोषणा गरेको प्रहरी प्रभाव बुढानीलकण्ठले जनाएको छ ।

दुर्घटनामा गोरखा आरुपोखरी घर भई बुढानीलकण्ठ ८ भंगाल बस्ने २४ वर्षीय एरिक परियार, नाम, थर र वतन नखुलेका २८–३० वर्षका पुरुष र ३०–३२ वर्षका पुरुष घाइते छन् । पहिचान नभएका दुई जना पुरुषको अवस्था गम्भीर छ । उनीहरुको उपचार भइरहेको र आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।