एमाले सचिवालय बैठकः विधान महाविधेशनको कार्यतालिका स्वीकृत

विश्वका तीन कम्युनिस्ट महानेता ललितपुर, गोदावरी १९ भदौः गोदावरीस्थित सनराइज हलको परिसरमा भदौ २०–२२ गते हुनेसम्म हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनका लागि कार्ल मार्क्स, भ्लादिमिर इलिच लेनिन र माओत्से तुङका शालिक राखेर सजाइँदै । तीन नेताको विचारलाई मार्क्सवाद–लेनिनवाद–माओवाद भनिन्छ। तस्बिरः अर्चना झा÷रासस

१९ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले दोस्रो विधान महाविधेशनको कार्यतालिका स्वीकृत गरेको छ । ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यलयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आजको केन्द्रीय सचिवालय बैठकले भोलिदेखि सुरु हुने पार्टीको महाधिवेशनको कार्यकालिका स्वीकृत गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन भोलि नै दस्तावेज प्रस्तुतिकरणमा केन्द्रित हुने निर्णय गरेको छ ।

बैठकले महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको छ । बैठकले स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्तावेज पनि प्रस्तुत गरिने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए । नेता थापाले आज पार्टी कार्यालयमा फरक मतको दस्तावेज दर्ता गराएका छन् ।


उपमहासचिव ज्ञवालीले पूर्वराष्ट्रपति भण्डारीको सदस्यताको विषय महाधिवेशनमा नल्याउन सबैलाई आग्रह गरे । “पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका सदस्यताका सम्बन्धमा कर्ण थापाले फरक मतमा के कुरा ल्याउनहुन्छ त्यो वेग्लै कुरा हो,” उनले भने, “पूर्वराष्ट्रपतिको जुन व्यक्तित्व र योगदानका विषय महाधिवेशको विषय नबनोस भन्ने हाम्रो आग्रह छ ।”

त्यसैगरी बैठकले केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने निर्णय गरेको एमाले उपमहासचिव ज्ञवालीले बताए । उनले महाधिवेशनको दोस्रो दिन भदौ २१ गते प्रस्तुत गरिएको दस्तावेजको १० वटा समूह बनाई छलफल गर्ने जानकारी दिए । उनका अनुसार भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतिकरण गर्ने र सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका छ ।

यस्तै सोही दिन नै केन्द्रीय निर्वाचन आयोगका निर्वाचन गर्ने र समसामयिक प्रस्तावसहित महाधिवेशनको समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए । बैठकमा सचिवालयका सदस्यले पछिल्लो समसामायिक विषयमा पनि छलफल गरेको जानकारी दिए । “जे विषय महाधिवेशनसँग सम्बन्धित छन्, ती विषयमात्र महाधिवेशनमा छलफल हुनेछन् । जुन विषय केन्द्रीय सचिवालय र केन्द्रीय कमिटी बैठकसँग सम्बन्धित रहेका एजेण्डा छन् ति विषयलाई सोही कमिटीमा छलफल गरिने छ,” उनले भने ।


एमालकोे विधान महाधिवेशन ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुँदैछ । महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।