उपत्यकाका अस्पताल भरी आन्दोलनका घाइते, रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

(AP Photo/Niranjan Shrestha)

२३ भदौ, काठमाडौं । आज भएको जेन–जी प्रदर्शनका क्रममा घाइतेलाई रगतको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रगतको उपलब्धताबारे अस्पताललाई जानकारी प्रदान गर्न ‘हटलाइन १११५’ रातभर सञ्चालन गर्ने भएको छ । मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधैँ १११५ मा फोन गरेर रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन् ।

यसअघि ‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सञ्चालित यो हटलाइन सेवा दैनिक बिहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मात्र उपलब्ध थियो । तर, आज भएको प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचारमा रगतको कमी हुन नदिन र सहज उपलब्धताका लागि मन्त्रालयले यो सेवालाई रातभर सञ्चालन गर्ने निर्णय गरेको हो ।


स्वास्थ्य मन्त्रालये घाइते भएकालाई निःशुल्क उपचारको व्यवस्था गर्न सबै सङ्घीय अस्पताललाई सर्कुलरसमेत जारी गरिसकेको छ । अहिले विभिन्न अस्पतालमा ३ सय भन्दा बढी घाइतेको उपचार जारी छ । आन्दोलनका क्रममा १९ जनाको ज्यान गइसकेको छ । यो पछिल्ला वर्षहरुमा सरकारले गरेको सबैभन्दा घातक दमन हो ।