२६ भदौ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजीसहितको अनिवार्य सहभागीतामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयनमा समर्थन जनाएको छ । बिहीबार बसेको पार्टीको भर्चुअल केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जारी गरेको उक्त प्रस्तावमा बृहत् राजनीतिक अनुमोदन हुने शुभेच्छा रास्वपाले राखेको छ । ‘सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन–जी पुस्ता सहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहनेछ,’ रास्वपाले आफ्नो प्रस्तावमा भनेको छ ।
त्यस्तै, संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै राष्ट्रिय सभाको स्थायी स्वरुप र गतिशीलता कायम राखी अन्तरिम सरकारले आगामी प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्नेगरी ताजा मतादेशको अपरिहार्यता र आन्दोलनको म्यान्डेटबीच सन्तुलन राख्न रास्वपाले उचित ठानेको उल्लेख छ ।