५ कात्तिक, काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–४ गुँरासेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । ७९ वर्षीय देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत अवस्थामा फेला परेका हुन् । उनी मंगलबार बिहान ससुराली जान भन्दै गुँरासेबाट थबाङतर्फ हिँडेका थिए । स्थानीयले झिम्रुक खोलामा उनको शव फेला पारेको वडा नम्बर १ का अध्यक्ष हिरा प्रसाद बुढामगरले जानकारी दिए । बाटोदेखि करिब १५० मिटर तल उनको शव भेटिएको बुढामगरले बताए ।
मृतकको परिवार र आफन्तलाई खबर गरिसकिएको बताएका छन् । ‘विकट र दुर्गम भौगोलिक कारणले आफन्त र प्रहरी टोलीलाई घटनास्थलमा पुग्न केही समय लाग्नेछ,’ उनले भने । घटनाको थप विवरण र मृत्युको कारणबारे अनुसन्धान गर्न प्रहरी त्यसतर्फ गइरहेको छ ।