काठमाडौँ, २४ कात्तिकः सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले कार्कीलाई यही कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । कार्की प्रहरी संगठन भित्र इमानदार कमाण्डर मानिन्छन् । गुल्मीका कार्कीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका गरेका छन् । उनले अब साढे दुई वर्ष प्रहरी संगठनको नेतृत्व गर्नेछन् । उनी अहिले काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।
प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए ।
डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो । चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् ।