राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मध्यराती एउटै गाडीमा देखिएका छन् । उनीहरुबीच सोमबार राती छलफल भएको थियो । छलफलपछि एउटै गाडीमा बाहिरिए । वैकल्पिक शक्ति एक हुनुपर्ने माग गरिरहेका समर्थकहरु यतिबेला सामाजिक संजालमा खुसी व्यक्त गरिरहेका छन् । स्रोतहरुका अनुसार दुई नेताबीच सहकार्य गर्नेबारे केन्द्रित भई छलफल भएको छ ।
गएराति असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा रवि र बालेनबिच भेटवार्ता भएको भएको हो । भेटमा सहभागी असिम साहले भेट सौहार्दपूर्ण भएको र मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको बताए । भेटमा भएका छलफलका विषय भने सार्वजनिक गरिएका छैनन् ।
असिम साहले पत्रकासँग भने, ‘बालेन र रवि मिलेर अघि बढ्नुपर्छ भन्ने देशको माग हो । त्यसको सुखद सुरुवात भएको छ । सन्देश केहो भने दुई जना मिलेर जाने हो । अब अगाडि बढ्ने हो ।’ उनले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’