शीर्ष नेता र सरकारबीचको संवादले चिर्ला निर्वाचनको शंका ?

८ पुस, काठमाडौं । २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चुनाव हुने की नहुने भन्ने अन्योल जारी छ । निर्वाचन आयोगले प्राविधिक तयारीको काम तिव्र गतिमा गरेको छ । तर, एक हुन नसकेका जेन जी समूह, राजनीतिक दलहरुमाथि गरिने अविश्वास र ताजा आक्रमणका घटनासहितले निर्वाचनमा अन्यौल कायम रहेको हो । यसैबीच सरकार र राजनीतिक दलका बीचको संवादहिनता समेत आजबाट चिरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवनमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संयुक्त रुपमा भेट गरेका छन् ।


उनीहरुबीचको भेट आगामी निर्वाचनका साथै समसामयिक विषयमा केन्द्रित रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनपछि उनीहरुबीच भएको यो पहिलो भेट हो । यस भेटले निर्वाचनको वातावरण बनाउन ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।