हुम्लामा आगलागी, पाँच घर जले, दुई घाइते

हुम्लाको सर्केगाड गाउँपालिका-२ मा बिहीबार राति ११ बजेतिर भएको आगलागी । आगलागीबाट यहाँका दुई घर जलेका छन् । तस्बिर ः कालीबहादुर थापा / रासस

११ पुस, हुम्ला । सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए । फडेराका अनुसार गए राति लैबा फडेरोको घरबाट अचानक सुरु भएको आगलागीमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ ।

आगलागीबाट स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ । क्षतिबारे आँकलन गर्न नसकिएको आगो निभाउनमा खटिएका स्थानीय विजय फडेराले बताए । स्थानीयको पहलमा आगो निभाइएको उनले बताए ।

आगलागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले बताए । “अहिले आगो निभाइसकिएको छ”, उनले भने । घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले बताए ।