१४ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ । नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाडामा भएको वार्तापछि १० बुँदे सहमति गर्दै दुई पार्टी एकीकृत भएका हुन् । एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी रहनेछ भने चुनाव चिह्न तारा नै रहनेछ । सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरे ।
एकीकरणपछि दुवै पार्टीका तिनै तहका जनप्रतिनिधि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । यससँगै प्रचण्डले कुल १७ घटकलाई समेटेर एक दल बनाएका छन् । निर्वाचन नजिकिएसँगै यतिबेला दलहरुबीच एकीकरणको तिव्र लहर चलेको छ ।