विशेष महाधिवेशन गरेको समूहले पायो काङ्ग्रेसको आधिकारिक मान्यता

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आव्हानमा भएको विशेष महाधिवेशनपछि नवनिर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको टोली बिहीबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई आयोगको कार्यालयमा पार्टीको विवरण अद्यावधिक गर्ने प्रयोजनका लागि दस्तावेज हस्तान्तरण गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

२ माघ, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ ।

विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको छ । अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ । विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ । काङ्ग्रेसको आधिकारिक सभापति गगन थापा बनेका छन् । रुख र झण्डा समेत उनीसँगै रहने छ ।