बालेनले जानकी मन्दिरमा गरे पूजाआजा

५ माघ, जनकपुर । सभालाई सम्बोधन गर्न मधेशको राजधानी जनकपुरधाम आएका रास्वपा नेता बालेन शाहले जानकी मन्दिरमा पूजा गरी आजको दिन सुरुवात गरेका छन् । जनकपुरधामबाट उनी मधेश आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्न लहान पुगेका छन् । उनी आज एकाबिहानै पूजाआजाका लागि जानकी मन्दिर पुगेका थिए ।

पूजाआजापछि उनले मन्दिरका पूजारी तथा सहमहन्थ रामरोशन दाससँग भेटघाट पनि गरेका थिए । बालेनसँगै पूर्वसांसद अमरेश कुमार सिंह पनि भेटमा सहभागी थिए । जनकपुरधाममा आज आयोजना हुने सभाबाट अमरेश कुमार सिंह पनि रास्वपा प्रवेश गर्दैछन् ।

सो सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछानेसँगै बालेन आइतबार साँझ जनकपुरधाम आइपुगेका थिए । त्यसअघि बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय बनस्थलीमा पदभार ग्रहण गरेका थिए । बालेन शाह २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दैछन् ।