राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा कांग्रेसका शाही र एमालेकी रखाल विजयी

मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा आइतबार बिहान राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्नुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल । तस्बिर : सुरेश आचार्य/रासस

कर्णाली, ११ माघः राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेसका ललितजङ्ग शाही र नेकपा (एमाले) की मीना रखाल विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा अन्यबाट जुम्लाका शाही र महिलातर्फ दैलेखकी रखाल विजयी भएका हुन् । शाहीले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ १०० मत प्राप्त गरे । रखालले प्रदेशसभातर्फ २६ र स्थानीय तहतर्फ ९३ मत प्राप्त गरेको निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए ।

उनका शाहीका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका बुद्धिप्रसाद शर्माले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५० मत प्राप्त गरे । त्यस्तै रखालका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी अन्जु महताराले प्रदेशसभातर्फ १३ र स्थानीय तहतर्फ ५५ मत प्राप्त गरेको सूचना अधिकारी चौलागाईंले बताए । उनका हाँअनुसार ६ मत बदर भएको थियो । कर्णालीमा कुल मतसङ्ख्या १९८ हुँदा प्रदेशसभाका ४० सदस्यमध्ये ३९ जनाले मतदान गरेका थिए । त्यस्तै, ७९ स्थानीय तहका १५८ जनप्रतिनिधिमध्ये १५२ मत खसेको थियो ।