मुस्ताङ, १४ माघ : मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ । माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी यहाँको तल्लो मुस्ताङमा वर्षासँगै हिमपात भएको छ ।
माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बस्ती र उच्चलेंकमा भारी हिमपात भएको हो । एक्याप लोमान्थाङका कर्मचारी सलिना नेपालीले लोमान्थाङमा बस्तीमै दुई फिट हिउँ परेको बताए । “भारी हिमपातका कारण यहाँको जनजीवन निकै कष्ठकर छ, बस्तीभित्र बाक्लो हिउँ जमेकाले बाहिर निस्कन सक्ने अवस्था छैन”, कर्मचारी नेपालीले भने । “घरका धाराहरू सबै जमेका छन्, हिउँकै पानी तताएर खानेकुरा पकाएर खानुपर्ने अवस्था छ, पशु गोठाला र स्थानीय नागरिकलाई निकै ठूलो समस्या देखिएको छ ।”
भारी हिमपातका कारण स्थानीय नागरिकको घर माथिको छतमाथि बाक्लो हिउँ थुप्रिएकाले यहाँका परम्परागत घर चुहिने भत्किने जोखिम बढेको सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए । कोरलास्थित सीमा सुरक्षाका लोमान्थाङ–२ न्हेचुङ छोसेरमा बसेका बिओपी सशस्त्र प्रहरीको सुरक्षाकर्मीको टोलीले स्थानीयवासीका केही घरमाथि थुप्रिएको हिउँ पन्छ्याइको सशस्त्र प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ ।
यसैगरी मङ्गलबार राति परेको भारी हिमपातका कारण जोमसोम–कोरला सडक र कागबेनी–मुक्तिनाथ सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । हिमपातका कारण सडक अवरुद्ध भएसँगै दर्जनौँ सवारीसाधन मुस्ताङको कागबेनीमै राकिएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।
यता जिल्ला प्रशासन कार्यालय मुस्ताङले सूचना प्रकाशित गरी हिमपातका कारण यात्रा जोखिम हुने भएकाले उच्च सर्तकता अपनाउन यात्रुलाई अनुरोध गरेको छ । कोरला सडक, मुक्तिनाथ सडक अवरुद्ध भएको र मुस्ताङ–डोल्पा सडक, मनाङ मुस्ताङ पदमार्ग, मनाङ–मुस्ताङ सरिबुङ पदमार्ग, मुस्ताङ–मनाङ मेसोकोन्दो पदमार्ग, धौलागिरि पदमार्ग अन्तर्गत धम्पुस पिक पदमार्ग लगायतका स्थानमा तत्काल यात्रा नगर्न नगराउन हुन पदयात्रीलाई अनुरोध गरिएको छ ।