प्रतिनिधिसभा सदस्य निर्वाचनः नागरिकलाई मतदाता नामावलीकै चिन्ता

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई कान्तिपथस्थित बहादुर भवनमा रहेको आयोगको कार्यालयमा आइतबार प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बारे जानकारी दिन आयोजित पत्रकारसँगको अन्तरक्रियामा मन्तव्य राख्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

१८ माघ, काठमाडौं | आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा धेरै नागरिकले आफ्नो मतदाता नामावलीका बारेमा जिज्ञासा राख्ने गरेका छन् । निर्वाचन आयोगले यही माघ ५ गतेदेखि सञ्चालनमा ल्याएको ‘कल सेन्टर’मा माघ १७ गतेसम्म एक हजार ६७७ जिज्ञासा तथा प्रश्न प्राप्त भएकामा मतदाता नामावलीसम्बन्धी ९०६ वटा रहेका छन् । निर्वाचन आचारसंहितासम्बन्धी १३५, मतदाता शिक्षासम्बन्धी ६१ र अन्य ५७५ वटा रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

हानिकारक सूचना पहिचान र कारबाही सिफारिसलाई पनि आयोगले प्राथमिकताका साथ अघि बढाएको छ । निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या÷भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न तथा गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन लागिएको प्रवक्ता भट्टराईले बताउनुभयो । आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवद्र्धन एकाइ पूर्ण रूपमा यसमा क्रियाशील भएको छ । हानिकारक सूचना उत्पादन एवम् सम्प्रेषण गर्ने १२० विषयवस्तु उत्पादक÷सम्प्रेषकलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाइएको छ । छ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ बमोजिम कारबाही गर्न नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

त्यस्तै १५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल, नेपालमा र ३४ वटालाई निर्वाचन आचारसंहिता, २०८२ बमोजिम कारबाहीका लागि केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।