बागमती र मधेस प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुद्वारा एमाले अध्यक्ष ओलीलाई समवेदना व्यक्त

rss

भक्तपुर, ६ चैत । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँसहित मन्त्रीहरूको टोलीले पितृशोकमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गरेका छन् । भक्तपुरस्थित अध्यक्ष ओली निवास गुण्डु पुगेर मुख्यमन्त्री बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा, भौतिक पूर्वाधारमन्त्री, अर्थमन्त्रीलगायतले एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त गरेका हुन् ।

उनीहरुले ओलीका दिवङ्गत पिता मोहनप्रसाद ओलीको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे । त्यसैगरी मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले पनि ओली निवास गुण्डु पुगेर उनलाई समवेदना व्यक्त गर्नुका साथै अध्यक्ष ओलीका पिताप्रति श्रद्धाञ्जली व्यक्त गरे । त्यसैगरी नेकपाका नेता एवं पूर्वमन्त्रीहरू लीलामणि पोखरेल र शशि श्रेष्ठ, प्रतिनिधिसभा सदस्यमा भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित रास्वपा नेता राजीव खत्रीले पनि आज गुण्डु पुगेर ओलीलाई समवेदना व्यक्त गरे । ठमेल पर्यटन परिषदका अध्यक्ष ध्रुव अधिकारीलगायत विभिन्न दलका नेता तथा व्यवसायीहरुले ओली निवास पुगेर समवेदना व्यक्त गरे ।