काठमाडौँ, ८ चैतः नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकले सभापति थापाले यही चैत ३ गते पदबाट दिएको राजीनामाका सम्बन्धमा छलफल गरी अस्वीकृत गर्ने निर्णय गरेको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारीलाई समेत मध्यनजर गरी उक्त निर्णय गरिएको उनले बताए ।
बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाटीले प्राप्त गरेको परिणामको जिम्मेवारी केवल एक व्यक्तिका रूपमा पार्टी सभापति र विशेष महाधिवेशनबाट चयन भई केवल ५० दिन जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिको मात्र नभएर समग्र पार्टीको साझा जिम्मेवारीको विषय रहेको निष्कर्ष निकालेको छ ।
मुलुकको मौजुदा परिस्थितिमा कांग्रेस सभापतिको रूपमा थापाले निर्वाह गर्नुपर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभइसकेको वर्तमान अवस्थामा सभापति थापालाई पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह गर्दै बैठकले सर्वसम्मतिबाट राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।
उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा यही चैत ६ गतेदेखि सुरु भएको बैठक आज सम्पन्न भएको हो । बैठकमा उपसभापति शर्माले गर्नुभएको प्रारम्भिक समीक्षा प्रतिवेदनलाई प्राप्त सुझावसमेत समावेश गरी परिमार्जनसहित पारित गरिएको छ ।
यसैगरी बैठकले पश्चिम एसियामा चर्किएको युद्ध चाँडै अन्त्य हुने अपेक्षा गर्दै युद्धग्रस्त क्षेत्रमा लाखौँ नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक सक्रिय हुन सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै, हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल स्वदेश ल्याउन कांग्रेसले सरकारसँग माग गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाहरू बारे न्यायिक जाँचवुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगद्वारा बुझाएको जाँचबुझ प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारसँग बैठकले माग गरेको छ ।
यसैगरी पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्य वृद्धि तथा नियमित आपूर्ति भइरहेको खाना पकाउने एलपी ग्यास वितरणमा बजारमा कृतिम अभाव सिर्जना गरिएकातर्फ कांग्रेसले ध्यानाकर्षण गराउँदै पेट्रोलियम पदार्थको मूल्य घटाउन र एलपी ग्यासको सहज आपूर्तिको व्यवस्थाका लागि पनि माग गरेको छ ।
आजको बैठकमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरे, सह–महामन्त्रीहरू डा डिला सङ्ग्रौला पन्त, बहादुरसिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही र मुक्ताकुमारी यादव तथा सदस्यहरू ओमकारप्रसाद श्रेष्ठ, सुरेन्द्रप्रसाद चौधरी, अमृत अर्याल, डा गोपाल दहित, तारामान गुरुङ, राजेन्द्रकुमार केसी, इ मोहन आचार्य, प्रतिमा गौतम, जानकी सिंह, नानु वास्तोला, अजयवावु शिवाकोटी, दिलकुमारी राई, शम्भुलाल श्रेष्ठ, हिमालय कर्माचार्य, नरेन्द्रकुमार केरुङ, दीपकजङ्ग शाह, रेशमबहादुर बानियाँले आफ्नो धारणा राखेका थिए ।
यसैगरी सदस्यहरू कृष्णबहादुर केसी, उज्ज्वल बराल, दिपनकुमार श्रेष्ठ, वसन्त भट्टराई, प्रकाश पन्थ, कुसुमदेवी थापा मगर, नगेन्द्र कुमाल, मधु शाही, सीता मिजार, मनकुमारी गुरुङ, नवोदिता चौधरी, प्रवक्ता देवराज चालिसे, प्रदीपराज शर्मा, सुरेशकुमार योङ्ग्या, जगतप्रसाद जोशी, शम्भुबहादुर बुढाथोकी, तिलक रानाभाटले पनि आफ्ना धारणा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु राजेन्द्रगोपाल सिंह, प्रेमबहादुर खड्का, डा केदारनरसिंह केसी, प्रमोदहरि गुरागाइँ, तीर्थजङ्ग शाही, धर्मराज गौतम, वजरंग नेपाली, सन्तोषी साउँद ऐरी, गीता सत्याल, शारदादेवी कोइराला, रामानन्दप्रसाद यादव, उमा दाहाल, विष्णुदेवी पाण्डे, रामबहादुर कार्की, रामादेवी खड्का, चिनी पोखरेल, हिमबहादुर रावल, शिवनारायण सिंह गनगाई, छाया सुनार, गङ्गा सुनार, लीला नेपाली, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्यबहादुर विक, दिनेश सुनार, प्रमिला राई, छिन्दुल्होमु शेर्पा, अष्टकुमार कवे, छन्दबहादुर पहराई मगर, भीम श्रीस, बाला अधिकारी, मुना भुसाल, विनिता खड्का, सम्झना खत्री, विजयकुमार स्वाँर, मथुराप्रसाद घिमिरे, जगदीशचन्द्र उपाध्याय, चन्द्रकलाकुमारी यादव, रामपल्टन साह, राधेश्याम पाठक, रामरुप प्रसाद कुर्मी, नरेन्द्रप्रसाद भट्ट र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।