म किन नहाँसु
मेरो हृदय किन नहाँसोस्
मेरो फुलबारीमा आएको ‘बसन्त’
राजा ऋतुहरूको
बगैंचामा फूलेका, फक्रेका,
झुलेका, लत्रेका फूलहरु…
बाटो छेउ किनारमा फुलेका र
झरिएका शिरिषका बैजनी रंगहरु…
———————————————
म किन नहाँसु
मेरो हृदय किन नहाँसोस्
आकाशमा भर्खर उदाएको
सुर्यको कालिलो तापहरु…
पूर्णिमामा उजेलिएकी पुर्णिमाको
चहकिलो किरणहरु…
गाह्रा गाह्रामा वर्षासंगै रमाएका
बाउसे र रोपाहारहरु…
त्यो काँचो प्राकृतिक माटोको सुवासहरु…
आकाश बादल र बर्षात सँगै रमाएर
दौडिएका बाल सखासंगीहरु…
———————————————
म किन नहाँसु
मेरो हृदय किन नहाँसोस्
जंगल र ढोर पाटनमा फेरी पलाएका
पल्लवी र पालुवाहरू…
फेरी उर्लेर घन्घनाएर बगेका
नदी र भेलहरु…
झनै अग्लिएर, चम्किएर पाहुना बोलाउने
हिमालका सौन्दर्यहरु…
बटुवा र भरियाहरुले थकान मेट्ने
देउरालीका छहारी, कुवा र शितल पवनहरु…
———————————————
म किन नहाँसु
मेरो हृदय किन नहाँसोस्
मन्दिर, मठ र मण्डलाहरुमा बजेका
सुरम्य भक्ति भजनहरु…
बौद्ध स्तुपा र गुम्बाहरुमा गुन्जेका ‘ओम मान्हे पेह्मे’ शान्ति र ध्यानका मन्त्रहरु…
हर शुक्रबार मस्जिदमा गरिने सामुहिक
सुजूद र रूकुहरु…
शनिबार चर्चमा सामुहिक गरिने प्रार्थनाहरु…
———————————————
म किन नहाँसु
मेरो हृदय किन नहाँसोस्
अम्बर गुरुङ, बच्चु कैलाश, नारायण गोपाल र गोपाल योञ्जनका कालजयी अजम्बरी
गीत र सुमधुर संगीतहरु…
प्रेमिल जोडीहरुले लुकिछली बिना हिसाब किताब साटेका माया र मुस्कानहरु…
———————————————
म किन नहाँसु
मेरो हृदय किन नहाँसोस्
बिषेशत: बसन्तको ‘हरेक’ झरीसंगै आउने
ब्यग्रताले पर्खाइएका तिम्रा प्रत्येक
मायालु इ- पत्रहरु…
हावामा उडिआएका चुम्बनहरु…
प्रेमरसका इमोजीहरु…
म किन नहाँसु
मेरो हृदय किन नहाँसोस् ।
⁃ सावर बस्नेत, हाल अमेरिका