काठमाडौँ, २९ चैत । प्रधानमन्त्री वालेन्द्र शाह र वर्तमान मन्त्रीपरिषद्का सदस्यहरुले आ–आफ्नो सम्पत्ति विवरण कानुन बमोजिम प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरी सार्वजनिक गरेका छन् । मन्त्रीपरिषद्को निर्णय बमोजिम उहाँहरुको सम्पत्तिको विवरण सार्वजनिक भएको हो । सो विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को वेबसाइटमा हेर्न सकिने सो कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समेत यसको चर्चा सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहकी पत्नीका नाममा १९० तोला सुन रहेको देखिएको छ । प्रधानमन्त्रीले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । उनले आफ्नो सम्पत्तिको स्रोत सामाजिक सञ्जाललाई मानेका छन् । उनले फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेको पनि जानकारी गराएका छन् । उनको परिवारका नाममा महोत्तरीमा ९ विगा जग्गा रहेको देखिएको छ । काठमाडौंमा ५ आना जग्गा र धनुषामा समेत जग्गा रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन रहेको पाइएको छ । उनले ६ किलो चाँदी रहेको उल्लेख गरेका छन् । उनको धनकुटामा १९ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा देखिन्छ । उनीसँग साढे ४ करोडको सेयर समेत रहेको देखिन्छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका करोडौ मूल्यका चार वटा अपार्टमेन्ट रहेको देखिन्छ । उनले ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् । उनले यस्तो स्रोत अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा प्यक्तिगत सापटी उल्लेख गरेका छन् । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको पनि जिम्मेवारीमा रहेका सस्मित पोखरेलले व्यक्तिगत र परिवारको नाममा रहेको संयुक्त अचल सम्पत्तिबारे उल्लेख गरेका छन् ।
जस अनुसार, उनले बुवा, आमा, मावलीका हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख छ । काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको विवरणमा उल्लेख छ । २५ तोला सुन, सय तोला चाँदी रहेको विवरण उल्लेख गरेका छन् । उनले आफ्नो बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् भने डलर खातामा अमेरिकी डलर ५ रहेको उल्लेख छ । उनले पारिवारिक सदस्यसहितले संयुक्त रुपमा शेयर कारोबारमा पनि लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका शेयरहरू करिब ३० लाख बराबरको लगानी गरेको उल्लेख गरेका छन् । बुवा रमेशकुमारकै राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमलाई शेयर खरिदको रुपमा राखेका छन् । आमा मिनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरेका छन् ।
उनले आफू र आमा मिनाक्षीको नाममा ७५ लाख ऋण रहेको विवरण देखाएका छन् । हिमालयन बैंकमा आफ्नो नाममा २५ लाख र माच्छापुच्छ«े बैंकमा आमाको नाममा ५० लाख कर्जा रहेको उल्लेख छ । बुवा र आफ्नो नाममा दुईवटा सवारी साधन रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा कूल सम्पत्ति २४ करोड १६ लाख २७ हजार र ऋण ७५ लाख रहेको उल्लेख गरेका छन् । उनको खुद सम्पत्ति २३ करोड ४१ लाख २७ हजार रहेको देखिएको छ ।