२४ वैशाख, काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिका–१०, बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बुधबार दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको छ ।
उनले भने, “धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ । प्रहरीले चाँडै पक्राउ गर्ने छ ।” प्रारम्भिक जानकारी अनुसार साथी–साथीबिच झगडा हुँदा हतियार प्रहार भएको उनको भनाइ छ । यसअघि पाटनमा गत महिना दुई जनाको धारिलो हतियार प्रहारबाट ज्यान गएको थियो ।