काठमाडौँ, १३ जेठ । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकको सुरूआतमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट ‘रूलिङ’ हुनुपर्ने माग दोहो¥याउँदै त्यसो नहुँदासम्म आफ्नो विरोध कायमै रहने बताए । सभामुख डोलप्रसाद अर्यालले सांसद राईलाई आशन ग्रहण गर्न आग्रह गरे । यसपछि सांसद राईले विरोध जनाउँदै बैठक बहिष्कार गरे ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२्–८३ को आर्थिक सर्वेक्षण पेस गरेका छन् । राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण– विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक बैठकमा टेबुल भएका छन् । संसद् सचिवालयका अनुसार बैठकमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।