२० असार, बर्लिन, कनेक्टिकट । लिङ्कन एभरेस्ट एक प्रेरणादायी नेपाली उद्यमी हुन् । नेपालको तनहुँ जिल्लामा जन्मिएका एभरेस्ट बाल्यकालदेखि नै स्वस्थ खानपान र समग्र जीवनशैलीप्रति गहिरो रुचि राख्थे । यो प्रेरणाको स्रोत भनेको उनका हजुरबुबा हुन्– जो नेपालका पहिलो आयुर्वेदिक वैज्ञानिक थिए । हजुरबुबाको समग्र स्वास्थ्य दर्शन र प्राकृतिक उपचार पद्धतिले लिङ्कनको जीवनलाई गहिरो रुपमा प्रभावित ग¥यो र ‘खाना नै औषधि हो’ भन्ने विश्वास उनको जीवन मन्त्र बन्यो ।
सन् १९७९ मा नेपालको अन्नपूर्ण होटलबाट आफ्नो व्यावसायिक यात्रा शुरु गरेका उनले मल्ल, याक एण्ड यती र एभरेस्ट शेराटनमा काम गर्दै सन् १९८९ मा अमेरिका पुगे । त्यहाँ हिल्टन र शेराटनमा काम गर्नुका साथै उनले एभरेस्ट एक्सप्रेस र काठमान्डू चुलो जस्ता सफल नेपाली रेस्टुरेन्टहरु सञ्चालन गरे । नेपाल र अमेरिका दुवै देशप्रतिको प्रेम र समर्पणका कारण उनले ‘लिङ्कन एभरेस्ट’ नाम राखेका हुन्– लिङ्कन अमेरिकाका महान राष्ट्रपतिको सम्मानमा र एभरेस्ट नेपालको पहिचानको प्रतीकका रुपमा ।
टेस्ट अफ हिमालय – चुलो
सन् २००१ मा मिशिगनको फार्मिङ्टनमा ‘एभरेस्ट एक्सप्रेस’ खोलेर आफ्नो रेस्टुरेन्ट यात्रा शुरु गरेका लिङ्कन एभरेस्टले सन् २००५ मा रोयल ओकमा काठमान्डू चुलो स्थापना गरे । यो रेस्टुरेन्ट छिट्टै मिशिगनमा अत्यन्त लोकप्रिय बन्यो र विभिन्न मिडिया आउटलेट तथा खाद्य समीक्षकहरुको ध्यान आकर्षित गर्न सफल भयो ।
एक विशेष समीक्षामा रेस्टुरेन्टको हातले बनाइएका मम, ताजा अर्गानिक मसलाको प्रयोग र प्रामाणिक नेपाली अनुभवको निकै प्रशंसा गरेको थियो । विभिन्न अखबार र मिडियाबाट प्राप्त यो व्यापक प्रशंसाले नेपाली खाना र संस्कृतिप्रति अमेरिकी समुदायमा एक नयाँ चेतना जगाउन महत्वपूर्ण भूमिका खेल्यो ।
त्यही सफलताको अनुभव र दशकौंको खाद्य उद्योगको ज्ञानलाई बोकेर लिङ्कन एभरेस्टले अब बर्लिन, कनेक्टिकटमा नयाँ व्यवस्थापन अन्तर्गत टेस्ट अफ हिमालय – चुलो सञ्चालनमा ल्याएका छन् । चुलो भन्ने शब्द नेपालको परम्परागत माटोको खाना पकाउने भाँडोको नाम मात्र होइन, यो मानिसहरुलाई नेपाली खाना र संस्कृतिमार्फत जोड्ने, एकजुट पार्ने र नेपाली जीवनशैली सिकाउने एउटा गहिरो अवधारणाको प्रतिविम्ब हो । साथै यो रेस्टुरेन्ट किसान, आयातकर्ता, निर्यातकर्ता, आपूर्तिकर्ता र नेपाली खाद्य उद्योगमा रुचि राख्ने जो–कोहीसँग पनि सहकार्य र साझेदारीमा काम गर्न तयार एक संगठनात्मक मञ्च पनि हो ।
रेस्टुरेन्टको मुख्य विशेषता भनेको ९९% अर्गानिक सामग्री प्रयोग गरी प्रत्येक दिन ताजै परोसिन्छन् । दाल भात, बफ सेकुवा, सेल रोटी, बरा, समोसा, चाउमिन लगायत थुप्रै प्रामाणिक नेपाली परिकारहरु यहाँ उपलब्ध छन् । येल्पमा ४.४ स्टार र १२० भन्दा बढी समीक्षा प्राप्त गरिसकेको यो रेस्टुरेन्ट कनेक्टिकटमा नेपाली खानाको प्रमुख गन्तव्य बन्दै गएको छ ।
दृष्टिकोण र मिसन : नेपाली खानालाई विश्वमा चिनाउने महाअभियान
लिङ्कन एभरेस्टको सबैभन्दा ठूलो सपना भनेको नेपाली खानालाई विश्व मञ्चमा प्रामाणिक रुपमा स्थापित गर्नु हो । विश्वभर नेपाली खानालाई भारतीय खानाका रुपमा चिनाइँदै आएको प्रवृत्तिप्रति उनी अत्यन्त चिन्तित छन् र यसलाई परिवर्तन गर्नु उनको जीवनको मुख्य मिसन बनेको छ । यसका लागि उनले नेपलीज वल्र्डवाइड सेफ एसोसिएसनको स्थापना गरेका छन् जसमार्फत विश्वभरका नेपाली सेफहरुलाई एकै मञ्चमा ल्याई नेपाली खानाको वैश्विक प्रवद्र्धन गरिँदैछ । नेपालका सातै प्रदेशमा खाना महोत्सव आयोजना गर्ने उनको महत्वाकांक्षी योजना तयारीको चरणमा रहेको छ ।