प्रमुख सञ्चारमाध्यमका कार्यालय र गगन थापाको घर अगाडी शंकास्पद सवारी पार्किङले दिनभर संसय

२९ असार, काठमाडौं । आज काठमाडौंमा मूख्य सञ्चारमाध्यम कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडी गेट नै ढाकिने गरी सवारी पार्किङ गरिँदा दिनभर संसय उत्पन्न भएको छ । साथै प्रमखु प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडी समेत शंकास्पद सवारी साधन पार्किङ गरिएको थियो । ती सवारी साधन कुन नियतले कसको इशारामा पार्क गरियो भन्ने खुलेको छैन । तर, शंकाको सुई भने सरकारतर्फ सोझिएको छ ।

खासगरी काठमाडौंमा दिनदहाडै एक युवकले पार्किङको विषयलाई लिएर आत्मदाह गरेसँगै सञ्चारमाध्यमले सरकार जिम्मेवारी हुनुपर्ने माग गरेका थिए । बदलामा सरकारी संयन्त्रबाटै अनाधिकृत रुपमा सञ्चारमाध्यम प्रमुख प्रतिपक्षी दलको कार्यालयमा सवारी पार्किङ गराइदिएको आशंका आज दिनभर सामाजिक संजालमा चलेको छ ।

अपरान्ह प्रहरीले ती सवारी साधन उठाएर बग्गीखाना लगेको थियो । महानगरीय ट्राफिक प्रहरी कार्यालयले आज अनाधिकृत पार्किङ गरेका १४ सवारी साधनलाई जरिवाना तिराएको विवरण सार्वजनिक गरेको छ । अधिकांश सवारीलाई ५ सय रुपैयाँ जरिवाना गराएर प्रहरीले ती सवारी साधनलाई छाडेको छ ।