गैंडाकोटमा अचेत भेटिएका दुई महिलाको मृत्यु

११ साउन, नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिक अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु भएको छ।
स्थानीयले अचेत अवस्थामा देखेपछि खबर गरेलगत्तै अस्थायी प्रहरी पोस्ट बेल्डिहाबाट खटिएको प्रहरी टोलीले दुवै महिलालाई उपचारका लागि नगर अस्पताल भेडाबारी पुर्‍याएको थियो। अस्पताल पुगेलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।

मृत्यु हुनेमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई गैंडाकोट नगरपालिका–१२ मा बस्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई गैंडाकोट नगरपालिका–१० स्थित एक गाई फार्ममा कार्यरत ४५ वर्षीया कान्छी राई रहेको प्रहरीले जनाएको छ। घटना शंकास्पद देखिएकाले त्यसको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।